जनमुखी निजामती सेवाको आवश्यकता

प्रेमलकुमार खनाल, नेपालको निजामती सेवाले ६ दशक लामो यात्रा पार गर्दैछ । वि.सं. २०१३ सालमा निजामती सेवा ऐन जारी भएपछि एकीकृत ढंगले सञ्चालन हुँदै आएको निजामती सेवा राज्यको शासन प्रणालीको मेरुदण्ड र स्थायी सरकार नै हो । निजामती सेवाको जनमुखी क्रियाकलापले सिंगो शासन प्रणालीको छवि उँचो भई लोकप्रिय बन्दछ ।
मुलुकमा ०६२।०६३ मा भएको युगान्तकारी परिवर्तनबाट सामन्ती राजतन्त्रको अन्त्य भई गणतन्त्रात्मक शासन व्यवस्थामा मुलुकले पदार्पण गरेको ७ वर्ष व्यतित भएको छ । जनता सार्वभौम सत्ता सम्पन्न हुने, केन्द्रिकृत र एकात्मक ढाँचाको शासन व्यवस्थालाई पुर्नसंरचना गरि संघीय ढाँचाको शासन प्रणालीलाई अंगीकार गर्ने र समाजमा पछाडि परेको÷पारिएको वर्ग, लिङ्क, जाति, समुदायको पहिचान, पहुँच र प्रतिनिधित्वलाई राज्य संरचनामा सुनिश्चित गर्ने गरी समावेशी लोकतन्त्रलाई आत्मसात् गर्ने दिशामा यतिखेर मुलुक अगाडि बढेको छ । युगान्तकारी परिवर्तनबाट प्राप्त भएका यी उपलब्धीलाई संस्थागत गर्नका लागि मुलुकमा संविधान निर्माणको काम अन्तिम संघारमा पुगेको छ ।
मुलुकमा भएको युगान्तकारी परिवर्तनसँगै स्वाभाविक रुपमा मुलुकको निजामती सेवाका सामु पनि अब युगान्तरकारी परिवर्तनका उपलब्धीलाई आत्मासात् गर्दै निजामती सेवालाई आमूल सूधार र परिवर्तन गरी परिवर्तन सुहाउँदो जनमुखी निजामती सेवाको रुपमा आफूलाई खडा गर्नुपर्ने ऐतिहासिक अभिभारा आएको छ । दशकौं देखि जनता सामन्ती एवं केन्द्रीकृत शासन प्रणालीबाट दमित हुँदै आएका छन् । शासन प्रणाली नै सामन्ती र केन्द्रीकृत भएका कारण कर्मचारीतन्त्रमा पनि यसको प्रभाव पर्नु स्वाभाविक थियो । कर्मचारीतन्त्रले विगतमा जनताको सेवक होइन, शासकको रुपमा भूमिका निर्वाह ग¥यो । यसले गर्दा निजामती सेवा जनताको नजरमा विगतमा लोकप्रिय बन्न सकेको थिएन । अतः अब बद्लिदो परिवेशमा निजामती सेवालाई कसरी जनमुखी बनाउने ? भन्ने विषयमा यतिखेर व्यापक छलफल गरिनु आवशयक छ । जनतालाई नै केन्द्र बिन्दु मानेर राज्यबाट सेवा र सुविधा प्रदान गर्ने, प्रदान गरिएको सेवालाई गुणस्तरीय बनाउन प्रतिबद्ध रहने, जनताका पीरमर्का र गुनासोको यथासमयमा सुनुवाई गरि समस्या समाधान गर्न तत्परता देखाउने, असहाय, वृद्धवृद्धा, निरक्षर सेवाग्राहीलाई तत्परताका साथ बिना मोलाहिजा छिटो छरितो ढगले सेवा प्रवाह गर्ने, निजामती सेवा अन्तरगत भएका कामको सबै निकाय र तहमा सार्वजनिक लेखापरिक्षण गर्ने कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउने कार्यले निजामती सेवा जनताको अगाडि ‘आँखाको नानी’को रुपमा स्थापित हुन सक्छ, यसतर्फ ध्यान जानुपर्ने देखिएको छ ।
जनमुखी निजामती सेवाका लागि लक्ष्य मूलक व्यवस्थापन अपरिहार्य हुन्छ । निजामती सेवामा काम गरे पनि हुने, नगरे पनि हुने, के कति काम गर्नु पर्ने ? नगरे वा पुरा नभएमा के हुन्छ ? आदि स्पष्ट दिशाबोध नहुँदा ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उक्ती चरितार्थ भई रहेको छ । मुलुकमा ०६२।०६३को राजनीतिक क्रान्ति पछि अब आर्थिक सामाजिक रुपान्तरण गरेर समृद्ध नेपाल निर्माण गर्ने दिशाबाट मुलुक अगाडि बढी रहेको सन्दर्भमा निजामती सेवाले पनि अब यस दिशालाई दह्रोसँग समात्नु जरुरी छ । हरेक वर्ष विनियोजन भएको पूँजीगत बजेट मध्ये झण्डै ६० प्रतिशत रकम खर्च हुन नसकेर फ्रिज भईरहेको स्थितिमा यस प्रति कर्मचारीतन्त्रले गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । तसर्थ हरेक योजना, कार्यक्रमको प्रतिफल के कति प्राप्त हुन्छ ? प्रतिफल प्राप्तीका लागि सम्बन्धित निकाय, र व्यक्तिलाई जिम्मेवारी र जवाफदेही बनाउन व्यक्तिले सम्पादन गरेको कामको आधारमा व्यक्तिको मूल्यांकन गर्ने परिपाटीको थालनी गर्नुपर्दछ यसका लागि जिल्लास्तरमा कृषि विकास कार्यालयबाट सम्पादन भएको कामबाट उत्पादन बढ्यो कि घट्यो ? भन्ने मापन गर्ने विधि अवलम्बन गर्ने वित्तिकै व्यक्तिको मुल्यांकन गर्ने, आधार पनि तयार हुन्छ ।
निजामती सेवालाई जनमुखी बनाउन, व्यवस्थापन विधामा विकास भएको अर्को नयाँ अवधारणा परिणाममुखी व्यवस्थापनलाई अवलम्बन गर्न अत्यावश्यक छ । संचालित योजना÷आयोजना समयमै पुरा भएमा कार्यकुशलता रहेको मापन गर्न सकिन्छ तर अब कार्यकुशलता भएको मात्रै भनेर जनताले सेवा प्राप्त गरेको भन्ने निष्कर्ष निकालनु हुँदैन । जनताले आयोजना संचालन भएपछि के कति लाभ हासिल गरे ? उत्पादनमा वृद्धि भयो भएन ? भन्ने विषयले आयोजनाको प्रभावकारिता रहन्छ अबको कार्यशैली कार्यकुशलता मात्रै हासिल गरेर हुँदैन, प्रभावकारिता पनि हासिल गर्नु पर्दछ भन्ने दिशाबोध निजामती सेवाभित्र पदार्पण गर्न जरुरी छ । जनमुखी निजामती सेवाका लागि सक्षम नेतृत्वको अपरिहार्यता हुन्छ । सामन्ती शासनको प्रभावमा रहेको निजामती सेवामा सामन्ती अवशेष कायमै रहेको टिप्पणी हुने गरेको छ । निजामती सेवा भित्र अहिले पनि जोखिमपूर्ण काम गर्न नचाहने, बरु काम पन्छाउने, जनतालाई भन्दा हाकिमलाई मान्ने, कामको परिणामलाई भन्दा प्रक्रियालाई ध्यान दिने, दुर दृष्टिका साथ काम गर्न नरुचाउने, संस्थागत विनास भन्दा पनि वैयक्तिक विकासमा ध्यान दिने, सहभागितामूलक निर्णय प्रक्रियाभन्दा स्वविवेकी तजविजी निर्णय गर्ने, दण्ड र पुरस्कारलाई प्रभावकारी रुपमा लागू नगर्ने परिपाटीबाट निजामती सेवा मुक्त हुन नसकेको टिप्पणीलाई अब निजामती सेवा भित्र सुधार गर्न आवश्यक छ । अब निजामती सेवाभित्र जनताको सेवालाई पहिलो प्राथमिकता दिएर कार्य गर्ने कार्यशैली अवलम्बन गर्नुपर्दछ । जनतालाई प्रदान गरिएको सेवाको प्रभावकारिता अभिवृद्धि गर्न प्रतिबद्ध भएर काम गर्न ध्यान दिनुपर्दछ । नीति र नियमले स्पष्ट दिशाबोध गरेको विषयलाई माथिको आदेश पर्खिएर बस्ने परिपाटीलाई अन्त्य गर्नुपर्दछ ।
जनमुखी निजामती सेवाका लागि निस्पक्ष र तटस्थ प्रशासन अहिलेको आवश्यकता हो । बहुलवादी समाजमा राजनीतिक विचार वा आस्थाबाट हरेक नागरिक प्रेरित भएझैं निजामती सेवाभित्र राजनीतिक विचार वा आस्था राख्ने कर्मचारीहरु हुन सक्दछन् । तर राष्ट्र र जनताको सेवा गरिरहेको राष्ट्रसेवकले सेवा प्रवाह गर्दा आफ्नो आस्था विचार झल्कने गरि, कसैलाई काखा र पाखा हुने गरि सेवा प्रवाह गर्नु हुँदैन पक्षपातपूर्ण व्यवहार गरेमा दण्डनीय हुने परिपाटी बसाल्नु पर्दछ । निस्पक्ष र तटस्थ निजामती सेवा निर्माण गर्नु अहिलेको चुनौती हो । जनताले सेवा प्राप्त गरिरहँदा पक्षपात, भेदभाव र अन्याय भयो भने महशुस गरेमा निजामती सेवाले क्रमशः जनविश्वास गुमाउँदै जान्छ । राजनीतिक नेतृत्व तहबाट पनि राजनीतिक हस्तक्षेप गर्ने, अवाञ्छित निर्देशन दिने र प्रशासनलाई राजनीतिकीकरण गर्ने कार्य भएमा निजामती सेवा धुमिल बन्न पुग्दछ, कर्मचारीले आफ्ू निष्पक्ष भूमिका निर्वाह गर्न पाउने स्पष्ट निर्देशन र नीतिगत मार्गदर्शन मात्रै राजनीतिक नेतृत्वबाट प्रदान गर्न सक्दा मात्र प्रशासनमा राजनीतिक हस्तक्षेप न्यून हुँदै जान्छ ।
निजामती सेवालाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन सकियो भने मात्र सेवाप्रति जनविश्वास बढेर जान्छ । आर्थिक अनियमितता र भ्रष्टाचार सार्वजनिक सेवाका क्षेत्रमा गम्भीर चुनौतीको विषय बनेको छ । भ्रष्टाचार न्यूनिकरण अथवा शुन्य सहनशीलनाको नारा जति नै लगाए पनि ‘खाने मुखलाई जुंगाले छेक्दैन’ भने झैं मुलुकको क्यान्सरका रुपमा प्रशासनभित्र जरा गाडेको भ्रष्ट मनोवृत्तिको जरालाई सदाका लागि उखेल्नु अहिलेको चुनौती हो । जीवनयापन गर्न पुग्ने तलब भत्ता सुविधा प्रदान गरेर आम राष्ट्र सेवकहरुको मनोवृत्तिमा नै सुधार गर्ने, अनियमितता र भ्रष्टाचारमा संलग्न दोषी व्यक्तिलाई कडा कारवाही गर्ने, त्यस्ता व्यक्तिलाई राजनीतिक तहबाट संरक्षण प्रदान नगर्ने परिपार्टीको थालनी गर्नु पर्दछ । व्यक्तिले आर्जन गरेको सम्पत्ति र उसको जीवनशैली प्रति कडा निगरानी राखेर पनि अनियमित कार्ये गर्ने गराउने कार्यलाई हतोत्साहित बनाउन सकिन्छ ।
सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने, कार्यालयको सवारी साधन परिवारजनको घुमाई फिराई र मनोरञ्जनमा प्रयोग गर्ने, कार्यालयमा जथाभावी खर्च गर्ने, समान खरिदमा प्राप्त हुने छुट कमीशन कार्यालय खातामा जम्मा नगरि व्यक्ति आफैंले उपयोग गर्ने, काम नभए वा समान खरिद नगरेको भएपनि काम भएको वा खरिद गरेको भनेर कृत्रिम विल बनाई भुक्तानी लिने दिने, परिपाटीले आर्थिक अनुशासन कायम गर्न चुनौती खडा गरिदिएको छ ।
सार्वजनिक सेवाभित्र स्वच्छ कार्यालय वातावरण निर्माण गर्ने कार्य चुनौतीपूर्ण बनेको छ । भवनहरु पुरानो भत्किएको, वर्षौदेखि रंग रोगन नभएको, शौचालयको सुप्रवन्ध नभएको, भएको ठाउँमा सरसफाई हुने नगरेको, कतिपय ठाउँमा धारामा पानी नै नआउने र दुर्गन्धित बनेको, कार्यालयको ले आउट व्यवस्थित नहुँदा जनताले सेवा छिटो छरितो प्राप्त गर्न नसकेको, कार्यालयको फायलिङ्क, व्यवस्थित नहुँदा घण्टौंसम्म कागजात खोज्दा पनि समय मै कागजात रेकर्ड नपाउने गरेको, कार्यालयमा सेवाग्राही आउँदा विश्राम गर्ने स्थान हुने नगरेको आदि गुनासोहरु जनस्तरबाट प्रकट हुने गरेका छन् । स्वच्छ कार्यालय वातावरणले नै सेवा ग्राहीको मन जित्न सकिन्छ । एक्काइशौं शताब्दीमा पनि उन्नाईसौं शताब्दी कै झैं कार्यालय वातावरण भई रहनु शोभनीय विषय हुँदैन ।
निजामती सेवामा टे«ड युनियनको व्यवस्थापन हुन नसक्दा निजामती सेवाको लोकप्रियतामा अनेकन टिप्पणी हुने गरेको छ । ट्रेड युनियन संस्थाको विकासमा वाधक बनेको भनेर टे«ड युनियन प्रति पनि टिप्पणी हुने गरेको छ । टे«ड युनियनका नेता आफ्नो स्वार्थ पुरा गर्न टे«ड युनियनको पदीय हैसियतलाई दुरुपयोग गरिरहेको भन्ने आरोपले टे«ड युनियनको छविमा प्रश्न चिन्ह उठाएको छ । टे«ड युनियनका नेता कार्यकर्ताले के काम गर्नुपर्छ ? के गर्नुहुन्छ ? के गर्नु हुँदैन भन्ने स्पष्ट आचारसंहिता नहुँदा पनि कार्यशैली र जीवनशैलीका क्षेत्रमा समस्या उत्पन्न भएका छन् ।
सामुहिक सौदावाजी प्रयोजनका लागि आधिकारिक टे«ड युनियन (सिविए) निर्वाचन अपरिहार्य रहेको छ । तर विगत १० वर्ष यता निजामती सेवामा सिविए निर्वाचनको विषय प्राथमिकतामा पर्न सकेको छैन ।
जनतालाई केन्द्रविन्दु मानेर कार्य गर्दा जनताले छिटो छरितो सेवा प्राप्त गर्दछन् र संगठनात्मक लक्ष्य हासिल गर्न पनि मद्दत पुग्दछ । संगठनात्मक लक्ष्य प्राप्ती हुँदा व्यक्तिको पनि लक्ष्य हासिल भई संगठन र व्यक्ति दुवैको छवि पनि उँचो हुन्छ, तर निजामती सेवामा संगठनको लक्ष्य पुरा गर्न भन्दा पनि आफ्नो स्वार्थ पुरा गर्नका लागि ध्यान दिने परिपाटी विद्यमान रहेको टिप्पणी हुने गरेको छ । राम्रो र कमाई हुने कार्यालयमा सरुवा हुन अपहत्ते गर्ने, सरुवा भई सकेपछि त्यही नै थमौतीका लागि शक्ति केन्द्र र टे«ड युनियनहरुसँग हार गुहार गर्न धाउने परिपाटीले सरुवा प्रणाली फितलो बन्ने गरेको भन्ने गुनासो सर्वत्र रहेको छ । सरुवा प्रणालीलाई व्यवस्थित, पारदर्शी र चक्रीय पद्धतिबाट अगाडी बढाउन सकिएन भने जनमुखी सेवा प्रवाह गर्न झन् कठिनाई उत्पन्न हुने देखिएको छ ।
जनमुखी निजामती सेवाका लागि संगठनभित्र उत्पन्न द्वन्द्वलाई यथासमयमा व्यवस्थापन गर्नुपर्दछ । तर द्वन्द्व व्यवस्थापनका लागि गम्भीरतापूर्वक ध्यान दिने गरेको पाइँदैन । समस्यालाई पन्छाउने, आपसी सम्वाद गर्न नचाहने, कार्यालयभित्र उत्पन्न समस्यालाई स्टाफ मिटिङ्क राखेर मैत्रीपूर्ण ढंगले समाधान गर्न ध्यान नदिने परिपाटीले सेवा प्रवाह गुणस्तरीय र जनमुखी बन्न सक्दैन । विपद व्यवस्थापन जनमुखी सेवाका लागि महत्वपूर्ण आधार हो । यस पटकको प्रलयकारी महाभूकम्पका बखत सरकारी स्तरबाट भएको ढिलासुस्ती, राहत र पुर्नस्थापनाका लागि चाहिने सामग्रीको भण्डारण र आपूर्तिमा देखिएको कमीबाट पनि विपद व्यवस्थापन प्रभावकारी नभएको पाइएको छ । अतः सबै मन्त्रालय, विभाग र कार्यालयस्तरसम्म विपद्को बखत कसरी व्यवस्थापन गर्ने भन्ने पूर्व तयारी गर्न आवश्यक छ । निजामती सेवाको लोकप्रियता भनेकै विपद् परेको बखत उद्दार र पुर्नस्थापना गर्ने क्षमतामा निर्भर हुने हुँदा यस तर्फ ध्यान दिन आवश्यक छ ।
उच्च मनोबलयुक्त कर्मचारी मात्र राष्ट्र र जनताको सेवामा उत्प्रेरित हुन सक्छन् । कर्मचारीको मनोबल अभिवृद्धि गर्ने मौद्रिक र गैह्र मौद्रिक सेवा र सुविधालाई समयोचित वृद्धि गर्न
ध्यान दिनु आवश्यक छ । मुलुक अब संघीयतामा जाने हुँदा संघीयतामा कर्मचारीको व्यवस्थापन कसरी गर्ने ? भन्ने विषयमा पूरा तयारी अहिले देखि नै गर्न आवश्यक छ ।
अन्त्यमा, मुलुकमा ०६२।०६३ मा भएको युगान्तकारी परिवर्तनबाट शासन प्रणालीको मेरुदण्डको रुपमा रहेको निजामती सेवामा आमूल सुधार र परिवर्तन गर्न आवश्यक भएको छ । जनतालाई परिवर्तनको अनुभूति प्रदान गर्न अब निजामती सेवालाई जनमुखी सेवाको रुपमा रुपान्तरण गर्न नयाँ ढंगको कार्यशैली र प्रणालीलाई अवलम्बन गर्न आवश्यक छ ।

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574